मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

काठमाडौ, २० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ ।

प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा रहेका छन् । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा गरी चार पटक नेपालको भ्रमण गरेकाे थियो । सन् २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका मोदीले समय अभावका कारण लुम्बिनीको भ्रमण स्थगित गरे । सन् २०१५ मा नाकाबन्दी र त्यसपछि सन् २०१९ मा सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको छ । मोदी अहिले तीन दिने भ्रमणका क्रममा युरोपमा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति