वर्षमान पुनको प्रश्न : ‘मतपत्र पचाउन नसिकने’ भनेर निर्वाचन आयोग र ओलीको बोली कसरी मिल्यो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको धारणासँग मिलेको उनको दाबी छ ।

मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा रहेको भन्दै उनले भने,“रेफ्री आफैँ मैदान ओर्लेर खेल खेल्न लाग्यो, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ? म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, मतदाताले देख्ने गरी रेफ्रीको भूमिकामा बसिदिनुस् ।”

प्रमुख आयुक्त थपलियाले ‘मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन’ भनेको भन्दै नेता पुनले भनेका छन्,“केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ ।”

उनले अघि भने,“निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।”

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताए । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तामान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए ।

नेता पुनले एमालेले धार्मिक एजेन्डा बोकेर हिँडेको आरोप लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्थाा आएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति