काठमाण्डौ, १८ बैशाख । निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएको निर्णय नमान्ने बताए ।
उनले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताए । उनले भने, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउन समय नै पुग्दैन । अरू सार्वजनिक बिदा धेरै छन् । सार्वजनिक बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो । पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ । हामीले आइतवारलाई बिदाको रूपमा मानेर जाने सम्भावना कम छ । सार्वजनिक बिदा कटाउने हो भने यसलाई निरन्तरता दिन सकिन्छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनका लागि पनि हामीलाई आइतवार चाहिन्छ । हामी पढाउनेछौँ ।’ त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ (नेशनल प्याबसन) का सचिव विष्णु पराजुलीले पनि सरकारले निजी क्षेत्रसँग छलफल नै नगरि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले कर्मचारीलाई हेरेर सरकारले त्यो निर्णय गरेको भन्दै विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए । सचिव पराजुलीले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय अव्यावहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्त्व नराख्ने धारणा राखेँ । उनले भने, ‘१० औँ हजार विद्यालयको हामीले प्रतिनिधित्व गरिरहँदा सरकारले हामीलाई बोलाएर गर्ने कि नगर्ने, गर्दा कसरी गर्ने भन्ने विषयमा छलफल नगरिकन मिडियामा आएपछि मात्रै हामीले थाहा पाएका थियौँ । यो निर्णय निजी क्षेत्रमा काम गर्नेहरूलाई आवश्यक छैन । शिक्षामा वार्षिक १२/१३ करोड रुपैयाँ बढी खर्च हुन्छ भने दुई दिन बिदा गर्नु व्यावहारिक छैन ।कोरोनाका कारण शिक्षा क्षेत्र धेरै तल पुगिसकेको अवस्थाबाट भर्खर लयमा फर्किएको छ । यस्तो बेलामा सरकारको यस्तो किसिमको निर्णय दुर्भाग्यपूर्ण हो ।’
प्रतिक्रिया