स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ताको तयारी पूरा : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको र दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाइ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।

आयोगले आइतबार र सोमबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अब उम्मेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको जानकारी दिए ।

उनले यातायातको सुविधा नभएको ठाउँमा १९ गतेभित्र मतपत्र पठाइसकिने बताए । थपलियाले ७७ जिल्लाका ७७ किसिमका मतपत्र हुने तथा भक्तपुर जिल्लाका चार नगरपालिका र ६ महानगरको मतपत्र १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि छाप्न पठाइने जानकारी दिए ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बढीमा १५ दिन प्रचारप्रसारको समय दिन सकिने भएपछि सो अवधि घटाउनुपर्ने राय आएकाले ११ दिन दिइने उनले बताए । त्यस्तै, उनले एउटा पार्टीबाट चुनाव जितेका व्यक्ति अर्को पार्टीमा गएमा वा पार्टीले कारबाही गरेको पत्र दिएमा १५ दिनमा हटाउने व्यवस्था रहेको उल्लेख गरे ।

त्यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने र आचारसंहिताविपरीत कार्य गर्नेलाई कारबाही गर्ने बताए । उनले उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी मिलाउन भनिएको बताए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति