काठमाडौं, ९ वैशाख । थापाथलीबाट नेकपा एमालेको पार्टी मुख्यालय आजदेखि औपचारिकरुपमा च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सर्दैछ । थापाथलीमा भाडामा रहेको पार्टी कार्यालयबाट आजदेखि आफ्नै भवनमा सर्न लागेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी स्थापना दिवसको अवसर पारेर एमाले सर्न लागेको हो । नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको कार्यकक्ष निर्माण भइरहेको छ । कार्यालयमै २०० जनासम्म अट्ने सभाहल रहने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । पार्टी कार्यालय परिसरमा निर्माण र साजसज्जाको काम पनि भइरहेको छ । २०७२ को भूकम्पले बल्खुस्थित मूख्यालय क्षतिग्रस्त भएपछि एमालेले केही वर्ष धुम्बाराहीबाट कार्यालय चलाएपछि गएको वर्ष थापाथली सरेको थियो । तर थापाथलीस्थित कार्यालय साँघुरो भएको भन्दै एमाले च्यासलमा सर्न लागेको हो ।


प्रतिक्रिया