पोखराको कांग्रेस कार्यालयमा ताला

कास्की, ७ वैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक दिउँसो एक बजे बोलाइएको उनले जानकारी दिए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए । सोमबार नै पोखरा एकीकृत समाजवादीको भागमा परेको खबर बाहिरिएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको, हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका थिए ।

लगत्तै सोमबार नै सभापति शेरबहादुर देउवाले तुरून्त काठमाडौं आउनू भनेपछि कास्कीका कांग्रेस नेता हरू मंगलबार देउवालाई भेट्न गएका थिए । देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए । पोखरा एकीकृत समाजवादीले नै पाउने पक्का भएपछि कास्कीका नेता, कार्यकर्ता रुष्ट छन् ।पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति