काठमाडौँ, ४ वैशाख । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् ।
सडक बालबालिकाका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथ’मा आबद्ध भएर उनी सडक बालबालिकाका संरक्षण र उद्धारका काममा लागेकी छन् । दिउँसो संस्थामा र बिहान बेलुका अरू विभिन्न काम गरेर २६ वर्षीया उनले आफूसँगै दुई सन्तान र तीन भाइबहिनीलाई पाल्दै आइरहेकी छन् । पारिवारिक अवस्थाका कारणले आफू सडकमा आउनु परे पनि सन्तानलाई सडकमा आउन नदिने अठोट उनले गरेकी छन् । उनले भनिन्, “जसोतसो छोराछोरीलाई बोर्डिङमा पढाइरहेको छु ।” बिहेपछि पनि उनी पहिले सडकमा हुन्थिन् । सन्तान जन्माएपछि उनी ‘साथसाथ’का सम्पर्कमा गइन् । उनलाई त्यहाँ आफू खराब बाटामा भएको महसुस भई सन्तानलाई त्यसमा हिँडाउन हुँदैन भन्ने लाग्यो । बिहेपछि पनि केही समयसम्म उनी मदिरा र लागुपदार्थ खान्थिन् । सन्तान भएपछि भने त्यो पैसाले सन्तानलाई खानेकुरा किन्छु भनेर मन बाँधिन् । त्यसपछि उनलाई छोराछोरी सम्झेर लागुऔषध र मदिरा केही खान मन लागेन । उनले भनिन्, “बच्चा पढाउनुपर्छ, तीन जना भाइबहिनीहरू सँगै छन्, उनीहरूलाई पनि पाल्नुपर्छ ।” उनी सानो हुँदा पहिले हजुरबा–हजुरआमासँग, त्यसपछि आमाबाबा र अहिले श्रीमान्सँग बस्छिन् । बाजेबज्यै नारायणथानमा मागेर जीविकोपार्जन गर्थे । उनीहरू बितेपछि आमासँग सडकमा बस्न गएको उनले बताइन् । अर्को विवाह गरेकी उनकी आमा त्यतिबेला श्रीमान्सँग सडकमै बस्थे । आमाले दोस्रो विवाहपछि बर्सेनि सन्तान जन्माए । उनीलगायत सबै भाइबहिनीको रेखदेखका लागि आमाले केही गर्न नसकेको उनले बताइन् । उनले भनिन्, “आफ्नै पेट कसरी पाल्ने भन्ने भएर होला, आमाले हामीलाई ध्यानै दिन सक्नुभएन ।”
परिवारको बेवास्ताले गर्दा नै उनी सानैदेखि सडकमा मन लागेको ठाउँमा बस्ने र खाने गर्न थालिन्, बिहानैदेखि चुरोट, गाँजा खान पशुपतिनाथलगायत विभिन्न मन्दिरमा गएर भेटी टिप्न थालिन् । अलि ठूली भएपछि छ–सात केटी मिलेर रक्सीले मातेका पुरुषलाई लुटेर पैसा कमाउने गरेको उनले बताइन् । सडकमा अरूले जे गर्यो त्यही सिक्न थालिन् । त्यो समूहकी ठूली केटीले राम्री बनेर केटा फसाएपछि सबै मिलेर लुट्न थाले । उनले भनिन्, “एक जना दिदीले पैसा भएको जस्तो लाग्ने केटालाई जाने हो भन्दै पछि लगाउँथिन्, हामी सबै मिलेर धुत्ने गथ्र्यौँ । पुलिस समाउन आए हामीलाई उसले नराम्रो गरेको भनेर त्यही केटालाई फसाउँथ्यौँ ।” सडकमा हुँदा खान, लाउन र बस्न समस्या पर्ने गरेको उनले बताइन् । ठूलो पानी पर्दा पसलको ओत लागेर बोरा ओढी सुतिन् । पेटीमा सुत्ने गरे पनि खाना नपाएर कयौँ दिन भोकै सुत्नुपरेको उनको भनाइ छ । अति भोक लागेपछि उनले पसल बाहिर फालिएको स्याउ र सुन्तला खाइन् । कयौँ रात भोकै भएपछि उनी साथीसँग मिलेर खाजाघरमा काम थालिन् । उनले भनिन्, “त्यहाँ हुँदा खाना खान र बास बस्न पाइने थियो, पछि बच्चालाई काम गराए पुलिसले समात्छ भनियो र छाड्नुपर्यो ।” सडकमा हुँदा पटकपटक संस्थाका प्रतिनिधि पनि सडक बालबालिकाको अवस्था बुझ्न जाने गरेका थिए । उनी पनि उनीहरूका सम्पर्कमा गइन् । एउटा संस्थाले पहिले संरक्षणका लागि लगेको थियो । आमा भोलिपल्ट लिन गएकाले आफू पुनः सडकमा आइपुगेको उनले बताइन् । उनलाई अर्धचेतावस्थामा हुँदा आफू बिग्रिएँ भन्ने भयो र भाइबहिनी खराब बाटामा नलागे हुने भन्ने लाग्यो । आफू सडकमा रहँदा एक दिन आफूले नशालु पदार्थ खाइरहेको बहिनीले देखेपछि कताकता मनमा उनको चिन्ता लागेको उनले बताइन् । उनले भनिन्, “त्यसपछि बहिनीलाई तानेर संस्थामा पुर्याएँ र त्यहीँबाट उसले स्कुल पूरै पढी ।” सडकमा हुँदा कसले के भन्छ भन्ने वास्ता नभए पनि उमेर बढ्दै जाँदा आफूलाई धेरै कुराबाट असुरक्षित भएको महसुस उनले गरिन् । सडकमा हिँडेको मान्छे भएपछि सबैले नराम्रो दृष्टिले हेरेको महसुस उनलाई भयो । विवाहपछि सुरक्षित हुने आशामा उनले १७ वर्षमा बिहे गरिन् । “उमेर पुगेपछि राम्री पनि देखिएँ क्यारे, जसले पनि दुव्र्यवहार गर्थे, कहिले हिँड्ने मान्छे त कहिले पुलिसले केके भन्ने हुँदा कताकता डर लाग्थ्यो ।”
सडकमा नै रहँदा उनको आफूजस्तै केटासँग भेट भयो । माया बस्यो र विवाह भयो । उनले भनिन्, “मलाई जताबाट पनि सडकबाट बाहिर जाने अवस्था नै आएन ।” त्यतिबेलासम्म उनलाई आफू केही दुःख गरेर भए पनि कमाएर एउटा कोठा लिएर बस्न सक्छु भन्ने थाहा थिएन । अहिले एक छोरा र एक छोरी छन् । उनले भनिन्, “जसोतसो जीवन चलेको छ ।” सडक छाडेपछि काम गरेर जसोतसो जीवन धान्न गाह्रो नहुने उनलाई लागेको छ । खानबस्न जसोतसो गरे पनि नागरिकता प्रमाणपत्र नहुँदा भने समस्या भएको छ । कमाएको पैसा बचत गर्न पाएकी छैन भने छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । उनले भनिन्, “नागरिकताका लागि पनि लागिरहेको छु, कुनै दिन बन्ला कि ।” सानैदेखि सडकमा बस्दै आएका अर्का एक युवक अहिले पाइप बनाउने काम (प्लम्बर) गर्छन् । सो कामका लागि उनी काठमाडौँ उपत्यका बाहिर पनि पुग्ने गरेका छन् । आफूले कमाएको पैसाबाट खानबस्न मात्रै होइन केही बचत पनि गर्न सकेको उनले बताए । अहिले उनी महिनामा झण्डै रु १५ हजार कमाउँछन् । सडकमा भन्दा काम गरेर बाँचेको जीवन सजिलो र सम्मानजनक रहेको उनको भनाइ छ । पहिले सडकमा धेरै डर थियो । पैसा साथमा भए आफ्नै साथीभाइले लुट्थे । अरूले सामान चोर्दा आफूलाई चोर भनेर प्रहरीले कुट्थे । उनले भने, “आफैँले काम गरेर खाँदा अहिले त कसैको डर छैन ।” सडकको जीवन छाडेर सामाजिक जीवन बिताउँदा उनलाई पनि नागरिकताको भने अझै समस्या छ । बुबाआमा दुवै बितेपछि उनले अरू कुनै आफन्त भेटेका छैनन् । संस्थाबाट बिरामी पर्दा सहयोग पाएको उनले बताए । उनले भने, “अब नागरिकता बनाउन पाए सबै सजिलो हुने थियो ।” आफूलाई थाहा नहुँदै बुबा बितेपछि उनी आमासँग पाटनढोकामा बस्ने गर्थे । आमाले कहिले तरकारी बेचेर त कहिले ज्यामी काम गरेर उनलाई पाल्नुभएको थियो । रोगी आमा एक्लो सन्तान उनी १० वर्षको हुँदा बित्नुभयो र साथीसँग बिग्रिएर हिँड्न थाले ।
सरकारले गत वर्षसम्म एक हजार २३५ बालक र १९८ बालिकाको उद्धार र व्यवस्थापन गरेको थियो । तीमध्ये सबैभन्दा बढी ६७३ आदिवासी/जनजाति, ४०७ ब्राह्मण/क्षेत्री र २७१ दलित छन् । उद्धार भएका बालबालिकामध्ये ९७५ जनाका बाबुआमा जीवित रहेको र १७२ को दुवैको मृत्यु भइसकेको पाइएको थियो । उद्धार भएकामध्ये अधिकांश बालबालिका काठमाडौँ उपत्यका र आसपासका जिल्लामा बढी पाइएको थियो । नेपालमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ । बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ मा सडक बालबालिकाको अभिलेख राख्ने, सडकमा आएका बालबालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राख्ने तथा परिवारमा पुनःमिलन गराउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
प्रतिक्रिया