काठमाडौं, ३० चैत्र । रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउनेसम्बन्धी राष्ट्रसंघीय महासभामा गतसाता भएको मतदानमा नेपाल तटस्थ बस्यो। रुसले युक्रेनमाथि डेढ महिनाअघि हमला गरेयता नेपालले राष्ट्रसंघीय मञ्चहरूमा युक्रेनका पक्षमा मतदान गर्दै आएको थियो।
तर पछिल्लो मतदानमा बहिष्कार गरेर नेपालले आफूलाई तटस्थ देखायो। नेपाल मात्रै नभएर उक्त मतदानमा छिमेकी भारत पनि तटस्थ रह्यो। अर्को छिमेकी चीन भने उक्त मतदानको विपक्षमा उभियो। भारत र चीनले निकट सम्बन्धलाई ख्याल गरेरै उक्त मतदानमा रुसको पक्ष लिए। मतलब उनीहरुले युक्रेनको विपक्षमा मत दिए। नेपाल पनि यसपाली दुई छिमेकी मुलुकझैँ रुसका पक्षमा उभियो।
उक्त मतदानमा अमेरिकी खेमाका ९३ देशले पक्षमा तथा चीन, क्युबासहितका २४ मुलुक विपक्षमा रहे। त्यस्तै ५८ देश अनुपस्थित थिए। रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउनेसम्बन्धी राष्ट्रसंघ महासभामा भएको मतदानमा नेपाल किन तटस्थ बस्यो भन्ने पत्रकारको प्रश्नमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘हामीले युक्रेनमाथि बिनाकारण भएको हमलाको निन्दा गरिसकेका छौँ।
कम्तीमा चार पटक हामीले युक्रेनका पक्षमा मतदान पनि गर्यौं।’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लम्सालले नेपालले युक्रेन संकटबारे लिएका निर्णयमा विरोधाभाष नरहेको दाबी गरिन्। ‘हामीले गरेका निर्णयमा विरोधाभास छैन। राष्ट्र संघीय मानवअधिकार परिषदको सदस्यबाट रुसलाई हटाउने प्रस्ताव थियो। त्यसमा हामी तटस्थ रह्यौँ। यसलाई प्राविधिक र प्रक्रियागत रुपमा बुझ्नुपर्छ। हामीले राष्ट्रसंघीय प्रस्तावको सान्दर्भिकता र महत्वका आधारमा निर्णय लिएका हौँ’, उनले थपिन्। लम्सालले युक्रेन संकटलाई हेर्ने नीति स्पष्ट रहेको पनि बताएकी छन्।
प्रतिक्रिया