भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

भारत, २९ चैत्र । भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।

जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ। अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्। खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २/२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ। केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ।

भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति