भारतमा ठोक्किए केबलकार : दुई जनाको मृत्यु, हिजोदेखि अड्किएका छन् दर्जनौं मानिस

काठमाडौं, २८ चैत्र । भारत झारखण्डमा आइतबार केबलकार आपसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

इन्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ। १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन्।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति