काठमाडौं, २७ चैत्र । वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । अघिल्लो महिनाहरुमा ब्याजदर बढाउदा पनि बैंकहरुमा निक्षेप नबढेपछि वैशाख निक्षेपको ब्याजदर नबढाउने भएको हो ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार वैशाखमा ब्याजदर नबढाउने निर्णय समेत गरिसकेको छ । वाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका थिए । चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखेका थिए । चैतमाजस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ । अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले वैशाख महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउनेछन् ।
प्रतिक्रिया