काठमाडौँ, २५ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि तल्ला कमिटीहरुले तालमेल अस्वीकार गरिरहेका बेला पाँच दलीय सत्ता गठबन्धनका दलले संयुक्त वक्तव्य निकाल्ने भएका छन्।
चितवन, कर्णालीका विभिन्न जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिममा पनि गठबन्धनका स्थानीय कमिटीले तालमेल अस्वीकार गरिरहेको सन्दर्भमा केन्द्रबाट साझा वक्तव्य आउन लागेको हो। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले रामचन्द्र पौडेल नेतृत्वको समितिमार्फत वक्तव्य जारी गर्ने निर्णय लिएका हुन्। बैठकमा सहभागी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार स्थानीय तह निर्वाचनबारे गठबन्धनले देशव्यापी तालमेल आव्हानसहित संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको हो। बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एकीकृत समाजवादीका सम्मानित नेता खनालसहित सहभागी थिए। यसअघि चैत २२ मा बसेको सत्ता गठबन्धनको बैठकले वरिष्ठ नेता पौडेलको नेतृत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ गठन गरेको थियो। समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको थियो।
प्रतिक्रिया