नेपाल दूरसञ्चार वार्षिक साधारणसभाः बोनस शेयर र नगद लाभांश वितरण गर्ने

काठमाडाै, २४ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले शेयरधनी महानुभावहरूको अटुट विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको अथक परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।

उनले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रूपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि हार्दिक आभार प्रकट गरे । कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महशुलमा छुट दिनुका साथै जरिवाना समेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति