काठमाडौं , १७ चैत । २२औं संस्करणको फिफा विश्वकपमा उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिकाको छनोट भएको छ ।
मेक्सिको एल्साल्भाडोरलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा छनोट भएको हो भने उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिकासँग २–० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिकासँगको खेल जितेको कोष्टारिका गोल अन्तरले पछि परेको हो । समान २५ अंक भए पनि अमेरिकाको गोल अन्तर ११ र कोष्टारिकाको ५ भयो । कोष्टारिकाले यो खेलमा अर्को थप ४ गोल गरेको भए विश्वकपमा स्थान सुरक्षित गर्ने थियो । अब कोष्टारिकाले विश्वकप छनोटमा ओसियना क्षेत्रको न्यूजिल्याण्डसँग अन्तरमहादेशीय प्रतिस्पर्धा गर्नु पर्ने छ ।
२२औं संस्करणको फिफा विश्वकपका लागि योसँगै २९ राष्ट्र छनोट भइसकेका छन् भने अब ३ टिमको टुङ्गो लाग्न बाँकी छ । कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म विश्वकपमा आयोजना हुनेछ । कतार विश्वकपका लागि १ अप्रिलमा ड्र हुँदैछ ।
प्रतिक्रिया