काठमाडौं, ६ फागुन । सर्लाहीको चुरेक्षेत्रमा पर्ने एक प्रहरी चौकीका इन्चार्ज कुटिएका छन् । ड्युटीमा खटिएका पत्थरकोट प्रहरी चौकीका इन्चार्जलाई स्थानीयले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
गम्भीर घाइते भएका उनको काठमाडौंमा उपचार भइरहेको छ । लालबन्दी नगरपालिका–१३ पत्थरकोठस्थित छेडा गाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रामएकवाल यादवमाथि बिहीबार मध्यराति स्थानीयले आक्रमण गरेका हुन् । यादवमाथि लालबन्दी नगरपालिका १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङे पुल नजिक आक्रमण भएको हो ।स्थानीयले सई यादवमाथि काठको चिर्पटले प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेको उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै ड्युटीमा रहेका एक अर्का जवान भने सामान्य घाइते छन् । यादवको स्वास्थ्यमा सुधार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दाका एक आरोपितलाई पक्राउ गर्न जाँदा आक्रमण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार करणी मुद्दा प्रहरीमा परे पनि गाउँलेले मिलाउन खोजेका थिए । मुद्दा परेलगत्तै फरार रहेका आरोपित गाउँमा आएको सूचना पाएपछि सई यादव र प्रहरी जवान उनलाई पक्राउ गर्न पुगेका थिए ।त्यस क्रममा प्रहरीमाथि आक्रमण भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । उनका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको छ । ‘विकट क्षेत्र र थोरै संख्यामा प्रहरी रहेकाले समयमा थप मद्दत टोली पुग्न सकेन, जसका कारण उनीहरू फरार भए,’ प्रसाईंले भने । प्रहरीमाथि आक्रमण भएपछि पत्थरकोट प्रहरी चौकीमा थप प्रहरी खटाइएको छ ।
प्रतिक्रिया