होलीमा भिडभाड गरेर उछृंखल गतिविधि गरे कारबाही

काठमाडौं, २ चैत । हाली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ ।

होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ । ‘२६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन्’ उनले भने । गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।

यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने एसपी मौलीले बताए । उनका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ । ‘मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाध नचलाउन पनि सर्वसाधारणलाई अपिल छ’ उनी भन्छन्, ‘चाड पर्वको समयमा प्रहरी नियन्त्रणमा पर्नु नपरोस् भन्नेमा सर्वसाधारण आफैं सचेत भइदिनु हुन्छ भन्ने अपैक्षा छ ।’ होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिने उनले बताए । ‘बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध छ’ मैनालीले भने, ‘अनुहार नै नचिनिने गरी विभिन्न रंग रोगन गरी होली नखेल्न पनि अनुरोध छ ।’ कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि उनले अपील गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति