काठमाडौं, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताएका छन् ।
कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताए ।कैलाली विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जानकारी दिए ।
माधव नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व मागेको जानकारी गराउँदै प्रचण्डले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे समेत छलफल भएको बताए । त्यसको सट्टा आफूहरुले बागमती प्रदेश सरकारमा दाबी गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको उनले बताए । अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।
प्रतिक्रिया