आफ्नै तागतमा निर्वाचन जित्नुलाई उच्च प्राथमिकता दिनेछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, २८ फागुन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् ।

नुवाकोटमा शनिबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताएका छन् । पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको उनको भनाइ छ । दाहालले भने, हामी आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिनेछौं । निर्वाचनमा गठबन्धनबारे उनको भनाइ थियो, निर्वाचन नजिक आउँदै गर्दा तालमेल बन्ने स्थिति बन्यो भने गठबन्धनका बीचमा नै तालमेल गर्ने भन्ने नीति छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यक्रम तीव्र पारिरहेका छन् ।

निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूबीच निर्वाचनमा गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्नेबारे छलफल चलिरहेको बेला दाहालको उक्त भनाइ आएको हो ।यस क्रममा नेता दाहालले एमसीसी सम्झौतालाई लिएर पार्टीभित्र चलेको विषयमा पनि आफ्नो धारणा राखेका थिए। उनले एमसीसी सम्झौताको विषय व्याख्यात्मक टिप्पणीमार्फत् टुंगो लगाइएको बताए । सुरुदेखि नै माओवादीले एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसद्बाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाइ थियो ।

एमसीसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको दाहालको भनाइ थियो ।एमसीसी सम्झौता पारित गरेको भनेर माओवादीका कार्यकर्ताले पार्टी छोड्दैछन् नि रुु भन्ने प्रश्नको जवाफमा दाहालले ती व्यक्तिहरू एमालेमा प्रवेश गर्न लागेको टिप्पणी गरे । एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको विरोध गर्नेहरू एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पार्टी एमालेमा जान लागेको उनको दाबी थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति