श्रीलङ्का अभ्यास खेलः नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित

काठमाण्डौ, २७ फागुन । श्रीलङ्कामा भएकाे अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली चौथो तथा अन्तिम खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको हो ।

श्रीलङ्का संयुक्त–११ ले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर दुई बलमा एक सय ४० रनमा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, कुशल भुर्तेलले ३२, राहुल पौडेलले २१ रन बनाए । यस्तै आरिफ शेख १३, सोमपाल कामी आठ, आसिफ शेख पाँच, दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट भए । विनोद भण्डारी र सागर ढकाल एक–एक रन बनाएर आउट भए । बिक्रम सोब शून्यै आउट हुँदा कप्तान सन्दीप लामिछाने शून्यमै नटआउट रहे । बलिङतर्फ श्रीलङ्का संयुक्त–११ का एस दक्सिनाले तीन र दिनशन मुनवीराले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का संयुक्त–११ ४८ ओभर दुई बलमा अलआउट हुँदै दुई सय ३२ रनको योगफल बनायो । उसका लागि अनुक फेर्नान्डोले ५६, सदुन वीराकोदीले ४९, कुमारस्वामीले ३०, दिलशन मुनवीराले १४, दिलरुवान परेराले १४ र सुकुगे प्रसन्नाले १२ रन बनाए । नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का नेभी स्पोर्ट्स क्लबलाई एक सय ११ रनले हराउँदा दोस्रो खेलमा उसलाई नै ८२ रनले हराएको थियो । यस्तै तेस्रो अभ्यास खेलमा श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हराएको थियो । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीच हुने शृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति