काठमाडौँ, २७ फाल्गुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको करिब तीन लाख भारतीय रुपैयाँसहित थाइल्याण्डका दुई नागरिक पक्राउ परेका छन् ।
भिस्तारा एयरलाइन्सको युके–१५६ कलसाइनको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेका ३२ वर्षीया वानविसा जन्तास्ना र ४१ वर्षीया वारापोर्न खुनसोम्बातलाई विमानस्थल प्रहरीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीले वानविसाको साथबाट एक लाख ७९ हजार पाँच सय र वारापोर्नको साथबाट एक लाख १५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो । वानविसाले खैरो रंगको लेडिज हृयाण्ड ब्यागभित्र नेपालमा प्रतिबन्धित दुई हजार दरका चार थान र पाँच सय दरका तीन सय ४३ थान तथा वारापोर्नको साथबाट पाँच सय दरका दुई सय ३० थान भारतीय रुपैया बरामद फेला परेको थियो । बराबद रकम कहाँबाट ल्याइएको भन्ने अनुसनधानका क्रममा रहेको प्रहरीले जनाएको छ । उनीहरु अन्तर्राष्ट्रिय उडान तर्फको लगेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्दा अवैध रकम फेला परेको थियो । दुवै आरोपितलाई थप अनुसन्धानका लागि बरामद रकमसहित राजश्व अनुसन्धान विभाग हरिहरभवनको जिम्मा लगाएको छ ।
प्रतिक्रिया