म्याग्दी, २५ फागुन:
वर्षेनि आउने बाढीपहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका कारण जिल्लाका नदी तथा खोलाबाट जलचरप्राणी लोपहुँदै जान थालेका छन् भने जैविक विविधतामासमेत ह्रास आउँदै गइरहेको छ ।
प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जानथालेपछि जलचर प्राणीको अस्तित्व नै खतरामा परेको पाइएको छ । म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गङगटो आदि हराउँदै गएका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढीपहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिँदै गएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।
विगत पाँच वर्षदेखि यी जलाधार क्षेत्रमा गएको बाढीपहिरा र अत्यधिक मात्रामा भएको नदीे दोहनका कारण यी नदीमा रहेका जलचर लोपहुँदै गएको उनीहरुको भनाइ रहेको छ । भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
नारच्याङ जलचर र जङ्गली जनाबरको वासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकोले यहाँका जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण इकाईमा कार्यरत शिव पुर्जाले बताउनुभयो ।
नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् ।
त्यसैगरी बाढीपहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन पनि जलचर नासिनुका मुख्य कारण रहेका वातावरण संरक्षणकर्मीले बताएका छन् । म्याग्दी नदी, कालीगण्डकी र रघुगङ्गा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाई दिएकोले जलचरको वासस्थान नाश हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी चन्द्रमणिा सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पु¥याइदिने भएकोले त्यस ठाउँमा रहनसक्ने अवस्था नभएपछि जलचर तलतिर सर्दै जान्छन् । मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिँदै जानुको अर्को कारण हो । म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरु नासिँदै गएका वातावरण संरक्षणकर्मीको भनाइ रहेको छ ।
त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहर विर्सजन गर्ने ठाउँ नदी तथा खोला नै बन्ने गरेका छन् । नदीमा फोहर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणविद्को भनाइ छ ।
––––
प्रतिक्रिया