लमजुङको सुन्दरबजार क्षेत्रमा आज बिहान ६ बजेदेखि कर्फ्यू

काठमाडौं, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ।आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो।

सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको मृत्युपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ।मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा श्रेष्ठको मृत्यु भएको थियो। छात्रको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सो क्षेत्रमा प्रहरीले माइकिङ गरेर निषेधाज्ञा गरिएको जानकारी पनि गराएको थियो।

सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणमा रहेको पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मुलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार ९ मा रहेको सिउडीबार चोकसमेत चार किल्ला भित्रको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। बिदाको दिन विद्यालयको होस्टेलका कर्मचारीले गर्मी छल्न भन्दै विद्यार्थीलाई पौडी खेल्न लगेको आरोप छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति