काठमाडौँ, २३ फागुन । रूसले युक्रेनमा आक्रमण झन तीव्र बनाउँदा त्यहाँ रहेका मानिसमा मात्र नभई जनावरहरू पनि त्रासमा रहेका छन् । होरेस नाम गरेको एसियाली हात्ती विस्फोटको आवाजले यति धेरै त्रसित भएको छ कि त्यसलाई लठ्याउने सुई लगाउन थालिएको छ । जेब्रालाई पनि भित्र थुनेर राखिएको छ । गोलीबारीको आवाज सुनेर भाग्न खोज्दा सीधै बारमा गएर ठोकिन थालेपछि भित्र थुन्नुको विकल्प किभको चिडियाघरका कामदारहरूसँग छैन ।
यस्तै माया नाम दिइएको लेमर (एक प्रजातिको बाँदर) ले त झन् डराएरै आफ्नो एक हप्ताको बच्चालाई त्यागिदिएपछि झन्डै त्यसको मृत्यु नै भएको थियो । विश्वका अधिकांश स्थानका चिडियाघरमा युद्धका कारण धेरै नोक्सानी पुग्छ । युद्धले मान्छे मात्रै होइन जनावरलाई पनि आफ्नो चपेटामा लिन्छ । अहिले किभको चिडियाघरलाई पनि युद्धले छोएको छ । रुसी सेनाहरु राजधानी किभ कब्जा गर्नका लागि अगाडि बढिरहँदा सैन्य क्षेत्र नजिकै रहेको चिडियाघरलाई प्रभाव नपर्ने कुरै भएन । द्वन्द्व बढ्दै जाँदा जनावरहरुले पनि तनावको संकेत देखाउन थालेका छन् । हवाई हमला हुँदा बज्ने साइरनको कर्कश ध्वनि र विस्फोटको मुटु कमाउने गुञ्जन दिनभर नै सुनिन्छ । रातभर पनि बन्दुक पड्किएको आवाज बन्द हुँदैन । भयावह अवस्थाको आकलन गर्दै आफ्ना परिवारसहित ५० जना कर्मचारी विशाल तर अस्तव्यस्त चिडियाघरभित्रै आश्रय लिइरहेका छन् । उनीहरुसँगै रहेका ३० जना जति परिवारका सदस्यसँग मिलेर २४ सै घण्टा जनावरको रेखदेखमा खटिनु दिनचर्या बनेको बताएका छन् ।
हवाई आक्रमणको साइरन बज्दा उनीहरु चिडियाघरमा बनाइएको सुरक्षित स्थानतर्फ दौडिन्छन् । एउटा सेल्टर चराहरु राख्न बनाइएको पिँजडाभित्र छ भने अर्को अर्धनिर्मित एक्वेरिममा छ । तर, हात्ती र जिराफ जस्ता भीमकाय जनावरलाई भने जमिनमुनिको सेल्टरमा राख्न असम्भव छ ।”उनीहरुसँग भाग्न वा लुक्नका लागि स्थान नै छैन” चिडियाघरका निर्देशक ४९ वर्षीय किर्लो टार्टिनले भने,’तिनलाई चिडियाघरबाट बाहिर निस्कन पनि मान्छेभन्दा थोरै मात्र विकल्प छन् । त्यो भनेर ट्यांकहरु गुडिरहने सकड नै हो ।’ यस्तै युक्रेनको पूर्वी सहर खार्किभस्थित द फ्लेडम्यान इकोपार्क जुुका अनुसार केही समयअघिको गोलाबारीमा त्यहाँ पनि केही क्षति पुगेको छ । केही जनावरहरु घाइते भएका छन् । चिडियाघरले फेसबुकमा लेखेको छ, ‘अहिले पनि यो क्षेत्रमा युद्ध जारी छ । त्यसैले यो नै अन्तिम क्षतिको विवरण होइन ।’ किभको चिडियाघरका लागि यो कुनै दुःस्वप्नभन्दा कम छैन । किभ बाहिर रहेका केही साना चिडियाघर र सेल्टरहरुले जनावरहरुलाई पोल्याण्डमा स्थानान्तरण गरेका छन् । त्यसमा केही दर्जन सिंह र बाघहरु पनि छन् । तर टार्टिनका अनुसार ठूला जनावरहरुलाई शान्तिको समयमा त एक ठाउँबाट अर्कोमा लान चुनौतीपूर्ण हुन्छ युद्धको समयमा त त्यसको कल्पनासम्म पनि गर्न सकिन्न ।
चिडियाघरमा अहिले दुई सातालाई पुग्ने खानेकुरा छ । तर दिनको लभगभ १०० किलोसम्म खानेकुरा खाने हात्ती जस्तो जनावरलाई लिएर भने चिडियाघरका कर्मचारी चिन्तित छन् । खानेकुराको व्यवस्था गर्न नसकिएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै उनीहरुको ठूलो टाउको दुखाइ भएको छ । तर उनीहरुले आशा भने छोडेका छैनन् । कुनैबेला रोटेपिङ चढ्दाको बच्चाहरुको रोमाञ्चित आवाज सुनिने चिडियाघर अहिले समसान जस्तै शान्त छ । बेलाबेला सुनिने कागको कर्कश आवाज र त्रसित जनावरको क्रन्दनले त्यो शान्तिलाई भंग गरिदिन्छ । चिडियाघरमा काम गरिरहेका केही कर्मचारीहरुले युद्धमा लड्न बन्दुक बोके पनि केहीले भने त्यसो गरेनन् । चिडियाघरमा जनावरको रेखदेखमा खटिएकामध्ये एकका अनुसार युद्धको समयमा जनावरहरुलाई जीवित राख्नु पनि युद्धमा होमिनुभन्दा कम छैन । (एजेन्सी)
प्रतिक्रिया