युक्रेनबाट पोल्याण्ड पुगेका नेपाली युवाको भारतद्वारा उद्धार

काठमाडौं, २२ फागुन । भारत सरकारले युक्रेनबाट आफ्ना नागरिकसँगै एक नेपाली नागरिकको पनि उद्वार गरेको छ। युक्रेनसमेत हेर्ने जिम्मा पाएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार नेपालका रोशन झाको भारतको सरकारी टोलीले उद्वार गरेको हो। उनी महोत्तरीको बर्दिबास नगरपालिका–१३ का बासिन्दा हुन्।

संकटग्रस्त युक्रेनमा रहेका झा अन्य नेपालीसँगै पोल्याण्ड पुगेका थिए। युद्ध शुरु भएदेखि नै झा युक्रेनस्थित भारतीय समुदायसँग सम्पर्कमा थिए। झाले भारतीय टोलीले आफूलाई पोल्याण्डबाट उद्वार गरेको बताए।‘अहिले म विमास्थलमा छु। भोलि नयाँदिल्ली आइपुग्छ,’ उनले भने। झा संकटग्रस्त युक्रेनको खार्किभ नेशनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत थिए।
खार्किभमा रुसी र युक्रेनी सेनाबीच भिडन्त भएपछि झा गतसाता अन्य नेपालीसँगै पोल्याण्ड पुगेका थिए।शनिबार नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा पोल्याण्डबाट भारतीय उद्वार टोलीले एक नेपाली र अर्का एक बंगलादेशी नागरिकको उद्वार गरेको जानकारी दिइयो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले हालै भारतीय विदेश मन्त्रालयलाई युक्रेनबाट आउन चाहेका नेपाली नागरिकको उद्धारमा सघाउन अनुरोध गरेको थियो।

भारत सरकारले युक्रेनबाट आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काइरहेको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै आफ्ना नागरिक उद्धारका लागि १३ उडान गरिएको थियो। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार युक्रेनको सुमी भन्ने ठाउँमा एक हजार हाराहारी भारतीय विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। युक्रेनमा उत्पन्न संकटबीच ४ सय भन्दा बढी नेपाली पोल्याण्ड गइसकेको दूतावासले जनाएको छ।

बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड–युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षित प्रस्थानमा सहयोग पुर्याउन पोल्याण्डमै छन्।

उनले त्यहाँस्थित नेपालीहरुसँग निरन्तर सम्पर्क गरी स्वदेश फर्किन चाहनेलाई उद्धारका लागि पहल गरिरहेका छन्। बर्लिनस्थित नेपाली दूतावासले जनाए अनुसार युक्रेनबाट हालसम्म ५११ जना नेपाली अन्य युरोपेली मुलुकमा गइसकेका छन्। दूतावासका अनुसार ५११ मध्ये पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरेका हुन्। युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखी त्यहाँका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण जारी रहेको दूतावासले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। हालसम्म युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेको दूतावासले जनाएको छ। परराष्ट्र मन्त्रालयले उद्दार कार्यमा बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको जनाएको छ। नेपाली राजदूतावास, बर्लिनले पोल्याण्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ।‘युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदैछन् भने केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा छन्’ दूतावासले भनेको छ।

युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्याण्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकको सुरक्षित आगमनमा सहयोग गरिदिन सरकारको तर्फबाट अनुरोध भइसकेको दूतावासले जनाएको छ। ती सबै देशबाट आवश्यक सहयोग प्राप्त भइरहेको दूतावासले जनाएको छ।

उद्दार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्य समिति क्रियाशील रहेको छ।

नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको दूतावासले जनाएको छ।

युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडानहरुमार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएकोमा सकारात्मक जवाफ प्राप्त भएको नेपाली दूतावासले जनाएको छ।

त्यसका लागि बर्लिनस्थित नेपाली दूतावासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको दूतावासले जनाएको छ।

रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको दूतावासले जनाएको छ। त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ।

‘युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने हुनाले इच्छुक सबैलाई नेपाली राजदूतावास, बर्लिनको देहायको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन सकिनेछ’ विज्ञप्तिमा छ।

दूतावासले युक्रेनको अवस्था निकै जटिल अवस्थामा पुगेको भन्दै त्यहाँस्थित नेपालीलाई घरभित्रै सुरक्षित भएर बस्न सचेत गराएको छ।

‘युक्रेनको अवस्था निकै जटिल छ। राजधानी शहर र अन्य केही क्षेत्रमा ठूला भिडन्त भइरहेका खबर आइरहेका छन्’ दूतावासले भनेको छ, ‘तपाईँको सुरक्षा र सहज रुपमा कम जोखिमयुक्त दक्षिणी क्षेत्रमा लैजानु हाम्रो पहिलो प्राथमिकता हो। त्यसैले युक्रेनका सबै नेपालीलाई संयम र सचेत रहेर बस्न आग्रह गर्दछौँ।’

दूतावासले सूचनामा नेपालीहरुलाई सकेसम्म घरभित्रै बस्न र कर्फ्यु हटेको भए सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

युक्रेनमा रहेका नेपालीलाई राजधानी किभ, खरकिभ र अन्य भागमा रहेका भारतीय समुदाय वा भारतीय साथीसँग सम्पर्कमा रहेर उनीहरुको साथ लागेर पश्चिम वा दक्षिणतिर जान आग्रह गरेको छ।

दूतावासले भारतले जारी राखेको उद्वार कार्यक्रममार्फत घर फर्किन नेपाली नागरिकलाई भनेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति