काठमाडौं, २० फागुन । रुसी सेनाले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनले दाबी गरेको छ । युक्रेनको दक्षिण-पूर्वी क्षेत्रमा रहेको उक्त ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार गरेको हमलापछि कब्जा गरेको रुसले दाबी गरेको हो ।
त्यहाँ परिचालित कर्मचारीहरूले ऊर्जा केन्द्रको अवस्थाबारे बुझिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । उनका अनुसार केन्द्रका कर्मचारीहरूले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।
कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेका थिए ।
के भएको थियो ?
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे २ बजे उक्त ऊर्जा केन्द्रको नजिकै आगलागी भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उक्त प्लान्टमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको आईएईएले जनाएको छ ।
अवस्था कति गम्भीर ?
त्यहाँको यकिन विवरण आइनसकेकाले उक्त आगलागीबाट कति क्षति भएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । गलागीबाट प्लान्टमा कुनै क्षती भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजले बताए ।आगोले अहिलेसम्म ऊर्जा केन्द्रका महत्त्वपूर्ण सामग्रीमा कुनै क्षती नपुर्याएको र क्षती कम होस् भन्ने उद्देश्यले त्यहाँको सम्बन्धित निकायले यथाशक्य प्रयास गरिरहेको सीएनएनले जनाएको छ ।
विस्फोट भएमा हुन सक्ने जोखिम ?
यदि ऊर्जा केन्द्रको रियाक्टरसम्म आगो पुग्यो अथवा विस्फोट भयो भने त्यहाँ राखिएको वातानुकूलित प्रणाली ९कुलिङ सिस्टम० ले काम गर्न छाड्छ ।
वातानुकूलित प्रणाली निष्क्रिय भएपछि ऊर्जा केन्द्रमा अत्यधिक परिमाणमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिने र यसले मानव समुदायमा ठूलो असर पुर्याउने हार्भर्ड विश्वविद्यालयअन्तर्गत बेलफर सेन्टरका प्राध्यापक ग्राहम एलिसनलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । तर‚ पावर प्लान्टमा लागेको सामान्य आगलागीले ठूलो क्षतीको सम्भावनासमेत कम हुने उनले बताए ।युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार यो केन्द्र सन् १९८४ बाट सञ्चालनमा आएको यो ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।यस प्लान्टबाट कुल ५७०० मेगावट विद्युत् उत्पादन हुने सीएनएनले जनाएको छ ।
प्रतिक्रिया