माओवादी नेता श्रेष्ठले गरे चन्दसँग भेट

काठमाडौँ, १८ फागुन । एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि पार्टीभित्रै तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता नारायणकाजी श्रेष्ठले अन्य दल र नेताहरुसँग छलफल सुरु गरेका छन् । उनले बुधबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग आफ्नै निवासमा भेटेका छन् ।माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली एकलौटी खालको भएको भन्दै श्रेष्ठ पक्षधरले आपत्ति जनाउँदै आएको छ ।

एमसीसीविरोधी पक्षधरहरुको कार्यगत एकताका लागि समेत केही नेताहरुले माग गरिरहेका बेला श्रेष्ठ र चन्दबीच भेट भएको हो । चन्दले एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आएका छन् । माओवादी केन्द्रमा श्रेष्ठ पक्षको धारणा पनि चन्दको जस्तै छ ।पार्टी अध्यक्ष दाहालले नै सोमबार नेता श्रेष्ठलाई ‘पार्टी छाडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । हात्तीवनस्थित श्रेष्ठ निवासमा मंगलबार अध्यक्ष दाहाल पुगेको थिए ।

एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’ एमसीसी सम्झौता अनुमोदनपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति