काठमाडौं, १४ फागुन । लामो समयदेखि प्रतिनिधि सभामा जारी अवरोध खुलाई अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन्।
त्यसअघि अहिले बालकोटमै नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईंले जानकारी दिए। जारी छलफलमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा एमालेबाट महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाललगायत नेता सहभागी छन्। उनीहरू अपराह्न ४ बजेदेखि वार्तामा बसेका हुन्। उनका अनुसार प्रधानमन्त्री देउवा अहिले साँझ ५ बजे अध्यक्ष ओली भेट्न बालकोट पुग्दै छन्। गत भदौ २३ गतेदेखि प्रतिनिधि सभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा यही फागुन ५ गतेदेखि भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवास धाइरहेका छन्। फागुन ५ गते उनी पत्नी डा।.आरजु राणा देउवा साथमा लिएर बालकोट पुगेका थिए।
सोही दिन प्रधानमन्त्रीको सरकारी निवसा बालुवाटारमा भएको पाँचदलीय गठबन्धनको वार्तामा एमसीसी पारितका लागि सहमति नजुटेपछि उनी प्रमुख प्रतिपक्ष गुहार्न बालकोट पुगेका थिए।त्यसअघि फागुन ५ गते बिहान प्रधानमन्त्री देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गरेका थिए।त्यसयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटक छलफल भइसकेको छ। गत बिहीबार प्रतिनिधि सभा बैठक स्थगन गरेर उनले ओलीसँग संसद् भवनमै अवरुद्ध संसद् सञ्चालन तथा एमसीसी अनुमोदनबारे छलफल गरेका थिए।
सोही दिन बेलुकी उनीहरुबीच बालुवाटारमा पनि छलफल भएको थियो। यस्तै शुक्रबार बेलुकी मात्र प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमै वार्ता भएको थियो। छलफलमा प्रधानमन्त्री देउवासहित कांग्रेस नेता तथा सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा सहभागी भएका थिए। एमालेबाट अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए।
प्रतिक्रिया