काठमाडौं, १२ फागुन । नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीबारे छलफल भएको हो ।
छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिनासंशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्विप जारी गर्ने नेता खनालले बताए । उनले एकीकृत समाजवादी सुरुदेखि नै परिमार्जनबिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए ।
नेता खनालले भने‚ ‘सामाजवादीको स्ट्यान्ड सुरुदेखि अन्तिमसम्म क्लियर छ– नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेन्ट नो एमसीसी । हामी दुई पार्टीहरू पहिलेदेखि नै एउटै स्ट्यान्डमा छौं । त्यो भनेको परिमार्जन र संशोधनबिना हामी एमसीसी पास गर्दैनौं ।’
त्यस्तै बैठकमा सहभागी माओवादीका नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए । उनले संसद्मा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसका लागि सभामुखलाई संसद्मा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्नेसमेत बताए ।
सरकारले गत फागुन ८ गते छलफलका लागि एमसीसी संसद्मा पेश गरिसकेको छ । सरकारले एमसीसी पास गर्नका लागि संसद्मा पेश गरे पनि सत्तारुढ दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन् । एमसीसी यथास्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीविरुद्ध आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया