काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भए लगत्तै एमसीसीका प्रस्तावक बन्नु पर्ने अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं छाडेका छन् ।
एमसीसीका विषयमा छलफल गरियोस भन्ने प्रस्ताव संसदमा पेश गर्ने जिम्मेवारीमा रहेका अर्थमन्त्री शर्मा सूची प्रकाशित भएसँग काठमाडौं छाडेर पर्वत पुगेका छन् । आइतबार सरकारले एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री उपस्थित नभएपछि सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेवल गरेका थिए । एमसीसीका विषयमा छलफलका लागि आज बिहिबारको बैठक तय भएको छ ।
बिहिबार संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ ।जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
भोलि एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर पर्वतको कुश्मा पुगेका छन् ।सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उधोग वाणिज्य संघको आज हुने साधरणसभामा सहभागी हुन कुश्मा पुगेका हुन।
उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।
प्रतिक्रिया