भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान होः उपराष्ट्रपति पुन

काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्नु हुँदै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुन सोमबार अन्तरराष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा युनेस्को काठमाडौँसँगको सहकार्यमा कमलादीमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ।

उनले भने, “भाषा, कला, संस्कृतिका क्षेत्रमा नेपाल विश्वमै धनी देश हो, यहाँ सयौँ भाषाभाषीहरू रहेका छन्, भाषाको विकास गर्न नसके देशको विकास हुन गाह्रो छ ।” सोही कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा–प्रतिष्ठानले करिब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जगेर्ना गर्नुपर्ने धारणा राखे। अङ्ग्रेजी भाषालाई अहिले बढी प्रयोगमा ल्याइने गरेका कारण पनि नेपाली मौलिक तथा मातृभाषा लोप हुन थालेकोप्रति इङ्कित गर्दै उपराष्ट्रपति पुनले भने, “जुनसुक्कै भाषा सिक्नु राम्रो हो तर आफ्नो मौलिक भाषा, कला तथा संस्कृति बिर्सिनु राम्रो होइन ।” यसैगरी उपराष्ट्रपति पुनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले अन्तरराष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा युनेस्को काठमाडौँसँगको सहकार्यमा कमलादीमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ।

सोही कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए । उनले भने, “भाषा भनेको आफ्नो मौलिक पहिचान गराउने चीज हो, लोप भइरहेका भाषा संरक्षण गर्नु आजको आवश्यकता हो ।” यसैगरी मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताए । यसैगरी मन्त्री आलेले साङ्केतिक भाषा प्रयोग गर्नेहरूका हकमा त्यही भाषा नै उनीहरूको मातृभाषा भएको विचार व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति