अमेरिकी र बेलायती सरकार साँच्चै आफ्नो गुप्तचर निकायको सूचनाको विश्वास गर्छन् ?

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोमा आफू विश्वस्त भएको बताए। उनको यो अभिव्यक्तिपछि हालै एक रुसी राष्ट्रिय टेलिभिजनमा मैले भोगेको नमिठो अनुभूति सम्झिएँ। सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) मा ‘रसिया एनालिसिस’ को पूर्वनिर्देशकका हैसियतले मलाई सो टीभीको एक प्रमुख राजनीतिक बहसमा निम्त्याइएको थियो। जहाँ युक्रेनमाथि आक्रमण गर्ने रुसको योजनाका विषयमा अमेरिका र नेटो सदस्य मुलुकहरुले गरेको प्रचारबारे छलफल थियो। मलाई सोधियो– के पश्चिमाहरुलाई रुसले आक्रमण गर्छ नै भन्ने विश्वास छ त ?
गुप्तचर सूचनाको विश्लेषण गर्नु निकै कठिन काम हो भनेर मैले जवाफ दिएँ।

पक्कै पनि यस्तो विश्लेषणमा गल्ती हुने गर्छ। ती गल्तीमध्ये इराकमा आमनरसंहारकारी हतियार छ भनेर अमेरिकी गुप्तचर निकायले निकालेको गलत रिपोर्टको सबैभन्दा बढी चर्चा हुने गर्छ। तर, यसपटक रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेकोमा अमेरिकी सरकार साँच्चै विश्वस्त छ भनेर मैले बताएँ।टीभी शोमा सहभागी रुसीहरुले मेरो कुराको खुल्लमखुल्ला मजाक उडाए। उनीहरु रुसका सबैभन्दा बढी जानकार र अनुभवी विदेशनीति विज्ञ थिए। उनीहरु युक्रेनमाथि रुसले आक्रमण गर्दैछ, अथवा आक्रमणको बहाना खोज्दैछ, युक्रेनको सत्ता पल्टाएर कठपुतली सरकार गठनको तयारी गर्दैछ, वा कुनै मितिमा आक्रमण तय भएको छ भन्ने रिपोर्टहरुमा अमेरिकी र बेलायती सरकारले साँच्चै विश्वास गर्छन् भन्ने कुरा ठाडै अस्वीकार गरिरहेका थिए। उनीहरुको भनाइमा त्यस्ता रिपोर्ट पश्चिम र रुसबीच जारी प्रचारयुद्धको एउटा हतियार हो भने त्यो बेग्लै कुरा हो। आखिर युद्धमा सबैभन्दा पहिले हताहत हुने भनेकै सत्य हो। तर, वासिङ्टन र लन्डन साँच्चै नै ‘उनीहरुको आफ्नै प्रोपागान्डामा विश्वास गर्छन् भने’ त्यसले निकै ठूलो समस्या खडा गर्ने रुसी विज्ञहरुको भनाइ थियो।वास्तवमै हामी समस्यामा छौँ। युक्रेन र युरोपको सुरक्षा ढाँचा कस्तो हुने भन्ने विषयमा रुस र पश्चिमले एकअर्काको धारणालाई बुझ्न असम्भवप्रायः देखिन्छ। असहमति के हुनुपर्छ भन्नेमा मात्र छैन।

अहिलेको यथार्थ के हो भन्नेमै हामीबीच विमति छ। युक्रेनमाथि आक्रमण गर्ने मस्कोको तयारीमा रुसी विज्ञहरु नै शंका गर्छन् भन्ने कुरा पश्चिमाहरुका लागि हाँसोको विषय हो। के युक्रेनको सीमामा रुसले सैनिक तैनाथ गरेको साँचो होइन र ? के उसले बेलारुस, कालसागरमा सैन्य अभ्यास गरेको होइन ररु यदि नेटो रुसको सीमाबाट पछि हट्दैन भने सैन्य–प्रविधिको प्रयोग गरिने धम्की उसले दिएको होइन र? जर्जियामा २००८ मा र क्रिमियामा २०१४ मा आक्रमण गरेर रुसले आफ्नो आक्रामक व्यवहार देखाइसकेको छैन र ? जसरी पश्चिमा मुलुकले प्रोपगान्डा चलाएको आरोप रुसी विज्ञहरुले लगाउँछन्, उसैगरी रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना छैन भन्दा हामी पनि त्यसलाई कुप्रचार मात्रै ठान्छौँ। त ?, रुसले भातृत्वपूर्ण नजरले हेर्ने युक्रेनमाथि आक्रमण गरेर विजय प्राप्त गर्न चाहन्छ भन्ने कुरालाई रुसीहरु चाहिँ असम्भव मान्छन्। अझ मस्को युक्रेनको लोकतन्त्रलाई उल्ट्याउन चाहन्छ भन्ने पश्चिमाहरुको दाबी सुन्दा त रुसीहरु खित्का छाडेर हाँस्छन्। रुसीहरु युक्रेनलाई लोकतान्त्रिक मुलुक मान्दैनन्। न त चाँडै लोकतान्त्रिक बन्न लागेको मुलुक नै ठान्छन्। बरु, उनीहरु युक्रेनलाई भ्रष्टाचारको दलदलमा फसेको, प्रश्रयमा आधारित बेकार राजनीति हाबी भएको मुलुक मान्छन्, जसलाई रुसीभाषी आफ्नै जनताप्रति कुनै माया छैन।रुसीहरु सोभियत संघ पुनर्स्थापना गर्न चाहन्छन् भन्ने आरोप सुन्दा उनीहरु चकित नै पर्छन्। थुप्रै रुसीहरु सोभियतकालीन समयलाई प्रेमपूर्वक याद गर्छन् तर त्यो पुरानो साम्राज्य पुनः खडा गर्न कोही पनि चाहँदैन। किनभने उनीहरुलाई थाहा छ, त्यो कति बोझिलो र प्रत्युत्पादक बन्न सक्छ भनेर। अमेरिकीहरु युक्रेनको सीमामा रुसी फौज जम्मा हुनु भनेको आक्रमणको तयारी हो भनेर बुझ्छन्। जबकि रुसीहरु त्यसलाई रुसको ढोकामा आइपुग्न लागेको विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नेटोलाई रोक्ने प्रतिरक्षात्मक कदम हो भन्ठान्छन्।

यो परिस्थिति हेर्दा थियोडोर रुजबेल्टले बेलायत र जर्मनीबारे १९०४ मा गरेको टिप्पणी याद आउँछ। ‘अंग्रेजहरुले आफूमाथि आक्रमण गरेर युद्ध बेडा नष्ट गर्ने योजना बनाइरहेकोमा जर्मन सम्राट कैजर विल्हेल्म द्वितीय विश्वस्त छन्। तर, सत्य के हो भने अंग्रेजहरुको त्यस्तो कुनै योजना छैन। बरु कैजर गुप्त रुपमा आक्रमण गरेर बेलायती साम्राज्यलाई विश्वको नक्साबाट मेटाउने तयारीमा छन् भनेर अंग्रेजहरु आफैँ आतंकित छन्,’ रुजबेल्टले भनेका थिए, ‘आपसी अविश्वास र एकअर्काको डरले युद्धको सम्मुख आइपुगेका दुई व्यक्तिको यो मामिला निकै हास्यास्पद छ।’र, त्यो मामिला पहिलो विश्वयुद्धको त्रासदीसँगै समाप्त भयो। रुस र पश्चिमबीचको सम्बन्ध पनि अविश्वास र डरबाट आक्रान्त भइरहेको छ। जुन एउटा आधुनिक विनाशमा पुगेर टुंगिन सक्छ। यसर्थ केही महत्वपूर्ण यथार्थबारे हामीले घोत्लिन जरुरी छ।पहिलो, कैजरको जर्मनी र एडवार्डको बेलायतजस्तै अहिले रुस र अमेरिका पनि एकअर्काको कदमलाई शत्रुतापूर्ण आक्रमण र आफ्नो कदमलाई रक्षात्मक मात्र मान्छन्। रुस विश्वस्त छ– लामो समयदेखि अमेरिका हामीमाथि निसाना साँधेर बसेको छ।

आफ्नो फौज र हतियारलाई झनझन् रुसी भूमिको नजिक ल्याउँदैछ। उसले रुसका छिमेकी मुलुकहरुमा रहेका रुसविरोधी समूहहरुलाई हतियार दिँदैछ, शक्तिशाली बनाउँदैछ र रुसभित्रै पनि विध्वंसक तत्वहरुलाई सघाउँदैछ। अर्कोतिर, पश्चिम पनि पुटिनलाई युरोप र अमेरिकाभित्रैको लोकतन्त्र र स्वतन्त्रताका लागि प्राणघातक शत्रु मान्छ। नतिजा– दुवै पक्ष आफूमाथिको आक्रमणविरुद्ध ‘खडा हुनैपर्ने’ ठान्छ। यसले क्रिया र प्रतिक्रियाको त्यो चक्र सिर्जना गरिरहेको छ, जसले उनीहरुलाई द्वन्द्वतर्फ लगिरहेको छ।दोस्रो यथार्थ के हो भने युद्धमैदान होस् या वार्ताको टेबुल, रुस र पश्चिम दुवैले एकअर्कालाई हराउन सक्दैनन्। आणविक युगको सुरुवाती वर्षदेखि नै हामी एकैठाउँ बन्धक बनेका छौँ। जसमा एक पक्षको सुरक्षाको ग्यारेन्टी तब मात्रै हुन्छ, जब अर्को पक्षको सुरक्षाको ग्यारेन्टी हुन्छ। सैन्य कारबाही, जासुसी, समाचार र अर्थतन्त्रका फरक दुनियाँलाई साइबर प्रविधिले एकैठाउँ गाँसेसँगै हाम्रो आपसी कमजोरी झनै बढेको छ।युक्रेनलाई आन्तरिक रुपमा विभाजित नतुल्याई न रुसले न पश्चिमले नै सो मुलुकलाई आफ्नो प्रभावक्षेत्रभित्र ल्याउन सक्छ।

रुसले अमेरिकालाई युरोपबाट बाहिर लखेट्न सक्दैन। र, जबसम्म सो क्षेत्रको सबैभन्दा प्रभावशाली सुरक्षा संगठनमा रुस सहभागी हुँदैन, तबसम्म युरोपमा स्थायित्व कायम रहन सक्दैन। यस्तो परिस्थितिमा आफूले जित्ने र अर्कोलाई हराउने जुनसुकै कोसिस निश्चित रुपमा दुवै पक्षको हारमा गएर टुंगिनेछ।क्युबा क्षेप्यास्त्र संकटपछि जोन एफ केनेडीले भनेका थिए– यो घटनाको पहिलो पाठ भनेको आणविक शक्ति राष्ट्रका नेताहरुले एकअर्कालाई छवि बचाउन सहयोग गर्नुपर्छ भन्ने हो। त्यो कुरा १९६२ मा जत्तिकै अहिले पनि लागू हुन्छ। तर, विनाशलाई टार्ने अवसरको त्यो ढोका चाँडो बन्द हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति