एमसीसी टेबल भएकोमै एमाले कन्फ्युजनमा : तत्काल कुनै धारणा नबनाउने


काठमाडौं, ८ फागुन । एमसीसीका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल कुनै पनि धारणा नबनाउने भएको छ । सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेपछि त्यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएको प्रमुख प्रतिपक्ष एमालेले एमसीसी टेबल भएपनि तत्काल कुनै धारणा नबनाउने नीति लिएको नेताहरूको भनाइ छ ।

माघ महिनादेखि राजनीतिक दलहरूमा एमसीसीबारेको बहस सघन बन्दै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत सत्ता गठबन्धनमै रहेका दलहरू एमसीसीबारे स्पष्ट हुनुपर्ने र संसद्मा टेबल गर्नुपर्ने बताउँदै आएका थिए । ‘हामीले चाहेर एमसीसी पारित हुने हैन ।

एमसीसी पारित गर्ने मत सरकारसँग छ, त्यसैले सदनमा नल्याउँदासम्म हामी बोल्दैनौँ,’ एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले गत माघ २३ गते बुटवलमा प्रेस चौतारीले गरेको कार्यक्रममा भनेका थिए ।एमाले नेताहरूले पहिला सरकारले एमसीसी टेबल गर्नुपर्ने त्यसपछि आफ्नो धारणा सार्वजनिक गर्ने अभिव्यक्ति दिए पनि आइतबार एमसीसी टेबल हुँदा समेत एमालेले त्यसबारे अझै ठोस धारणा बनाउन जरुरी नभएको बताएको हो ।

एमाले नेता सुवास नेम्वाङले आइतबारको संसद् बैठकमा एमसीसी टेबल भएको हो कि होइन ? भनेर आफूहरू कन्फ्युजनमा परेको प्रतिक्रिया दिए । ‘प्रमुख प्रतिपक्षको विरोध कायमै छ । त्यसैमाथि सत्तापक्षकै सांसदले एमसीसी खारेज गर्नुपर्छ भनेर प्रधानमन्त्रीकै अगाडि संसद्मा बोल्नुभएको छ । यसले हामीलाई कन्फ्युज बनायो,’ नेम्वाङले भने ।

यता एमाले सचेतक विशाल भट्टराई एमालेलाई संसदीय प्रक्रियामा भाग लिने अवस्था नबन्दासम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने र एमसीसीको पक्षधरताबारे नखुल्ने बताए । ‘हामी अहिलेको अवस्थामा कुनै पनि संसदीय प्रक्रियामा भाग लिदैनौँ,’ प्रमुख सचेतक भट्टराईको भनाइ छ । उनले आफ्ना पुर्ववत (संसद् अवरोध) को गतिविधि जारी राख्ने भन्दै यदि सभामुखसमक्ष आफूहरुले राखेका शर्त पूरा भएमा संसदीय प्रक्रियामा भाग लिने र त्यसबेला मात्र एमसीसीमा पक्षधरता देखाउने बताए ।‘हामीले कारवाही गरेका सांसदहरुका हकमा सभामुखसमक्ष जेजति शर्तहरु राखेका छौँ, ती पुरा हुनुपर्छ । यदि त्यो भयो भनेमात्र हामी संसदीय प्रक्रियामा भाग लिन्छौँ र एमसीसमा पनि पक्षधरता देखाउँछौँ,’ सचेतक भट्टराईको भनाइ छ । एमसीसी मतदानमा गएको अवस्थामा पनि यही क्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।नेता भट्टराईले प्रमुख प्रतिपक्षलाई सभामुखले ढोका बन्द गरेर भित्र आइज भनेजसरी व्यवहार देखाएको आरोप पनि लगाए । ‘हामीले संसदीय प्रक्रियामा भाग नै लिन पाएका छैनौ, हामीलाई सभामुखले त्यो अवसर दिनु नै भएको छैन’ भट्टराईले भने, ‘उहाँले हामीलाई ढोका बन्द गरेर भित्र आऊ, भनेजस्तो असाध्यै अव्यवहारिक काम गरिरहनुभएको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति