एमसीसी संसदमा लैजान सत्तारुढ दल सहमत, आजै टेबल गरिने

काठमाडौं, ८ फागुन । सत्तारुढ पाँच दलीय गठबन्धनबीच अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकमा पूर्ववर्ती सरकारले संसदमा अनुमोदनका लागि पेश गरेको प्रस्ताव टेबल गर्ने सहमति जुटेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले अनुमोदनका लागि संसदमा पेश भइसकेको प्रस्तावलाई आइतबार नै टेबल गर्ने सहमति जुटेको जानकारी दिए।‘गठबन्धन बैठकमा आजै टेबल गर्ने सहमति जुटेको छ,’ उनले नेपालखबरसँग भने, ‘त्यही निर्णय गरेर नेताहरु बैठकबाट उठ्नुभएको छ।’यसअघि शनिबार बसेको सत्ता साझेदार दल नेकपा ‘एकीकृत समाजवादी० ले एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने निर्णय गरेको थियो।

उक्त निर्णयपछि अर्को साझेदार नेकपा माओवादी केन्द्रलाई एमसीसी संसदमा टेबलका लागि थप दबाब सिर्जना भएको थियो।
यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर सार्वजनिक भइसकेको छ। एकीकृत समाजवादीले शनिबार स्थायी कमिटी बैठकबाटै एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको थियो।

यसअघि भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाइ र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबल नै गर्न नदिने अडान लिइरहेका थिए।तर प्रधानमन्त्री देउवाले निरन्तर प्रयास जारी राखेपछि उनीहरू एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नसकिने तर छलफलका लागि प्रतिनिधि सभाको बैठकमा पेस गर्न दिन राजी भएका हुन्।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिँदै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति