काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् ।
साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।
अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार र सत्ता साझेदार दलहरु दबावमा छन् ।
प्रतिक्रिया