काठमाडौं, ६ फागुन । कोरोना महामारी सुरु भएपछि व्यापार नभएर समस्या भोगिरहेको होटल याक एण्ड यती माथि अहिले अर्को बज्रपात परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचतारा खोस्ने मात्र नभई होटल नै बन्द गर्ने, अचल सम्पत्ति र बैंक खाताहरू रोक्का राख्ने निर्णय गरेको छ ।
क्यासिनो चलाएबापतको करिब ४२ करोड बक्यौता भुक्तानी नगरेसम्मका लागि भन्दै पर्यटनमन्त्री प्रेम आलेले यस्तो निर्णय गरेपछि नेपालको एउटा प्रमुख लक्जरी होटल याक एण्ड यतीले ‘कर नतिर्ने होटल’को रूपमा बद्नामी व्यहोर्नुपरेको छ । श्री ३ वीरशमशेरले नेओ-क्लासिकल वास्तुशैलीमा सन् १८८६ मा निर्माण गरेको लालदरबारमा चलिरहेको यो होटलको अरूको भन्दा बेगल प्रतिष्ठा रहेकाे छ । रातो संगमर्मर प्रयोग गरिएको यो दरबारको अधिकांश निर्माण सामग्री इटालीसहितका युरोपेली मुलुकबाट ल्याइएको थियो । उसबेला लगाइएका ऐना र झुमरहरू यो होटलमा अझै सजिएका छन् । ‘याक एण्ड यती’को जन्म भने लालदरबारमा नभई चारबुर्जे दरबार (अहिले निर्वाचन आयोग रहेको भवन) मा भएको थियो । चारबुर्जे दरबार पनि वीरशमशेरले नै बनाएका थिए, जसलाई पछि जुद्धशमशेरले वीरको सन्तानबाट खोसेर आफ्ना छोरा बहादुरशमशेरलाई दिएका थिए ।
बहादुरशमशेरको भोगचलनमा आएपछि चारबुर्जे दरबारलाई ‘बहादुर भवन’ भन्न थालियो । यही बहादुर भवनमा पछि रूसी नागरिक बोरिस लेसानेभिचले ‘रोयल होटल’ खोलेका थिए । रोयल होटलभित्रको बारको नाम थियो याक एण्ड यती । बोरिसले सन् १९६९ मा रोयल होटल बन्द गरेर नयाँ साझेदारसँग मिलेर अन्तर्राष्ट्रिय मेनुसहित ‘याक एण्ड यती रेस्टुरेन्ट’ खोले । १९७७ सेप्टेम्बरमा आएर त्यही रेस्टुरेन्ट १२० कोठा भएको लक्जरी होटलमा बदलियो । त्यसरी नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ । पर्यटन मन्त्रालयले होटल बन्द गराउने आफ्नो निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई र गृहले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र काटेको हाे ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल भन्छन्, ‘हामीले नै होटल बन्द गराउने भन्ने हैन, पर्यटन विभागले सहयोग माग्यो हामी सहयोग गर्छौं ।’ नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ उता होटलका कर्मचारीहरू होटल खुला रहे पनि बन्द भए जस्तै अवस्था रहेको बताउँछन् । उनीहरूका अनुसार, महामारीपछि स्वदेशी पाहुनाको आगमन शून्य बराबर छ । अहिले केही विदेशी पाहुना भए पनि व्यापार ठप्प जस्तै छ । ‘सरकारको पछिल्लो निर्णयपछि ग्राहकहरूले होटल बन्द छ कि भनेर सोधपुछ गर्ने क्रम बढेको छ’ एक कर्मचारी भन्छन्, ‘क्यासिनो बन्द भएको हो, होटलबारे कुनै निर्णय नभएको जानकारी दिने गरिएको छ ।’ पर्यटन मन्त्रालयका अधिकारीहरू भने होटल बन्द गर्ने निर्णय भए पनि गृह प्रशासन होटलप्रति उदार भएको बताउँछन् । ‘पर्यटन विभागले होटल बन्द गराउन भनिरहेको छ, तर गृह प्रशासनले विभागलाई सहयोग गरेको छैन’ नाम उल्लेख नगर्ने शर्तमा पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘होटल बन्द गराउन हामीसँग प्रहरी बल त छैन ।’
प्रतिक्रिया