काठमाडौँ, ६ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद शशांक काईरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई वटा विकल्प रहेको बताएका छन् ।
कोइरालाले शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवासँग कि एमसीसी पास गर्ने कि गठबन्धन बचाउने दुई वटा विकल्प रहेको बताए ।
‘एमसिसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् भन्ने जस्ता धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसिसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरू परिचालन भएको छैनन्,’ उनले भने ।
‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एउटा एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्छ। उहाँले कुन रोज्नुहुन्छ,’ उनले भने, ‘एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ ।’
कोइरलाले प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न नै सुझाव दिएका छन् । ‘एमसिसी पारित गरौं भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपति कसैले दिँदैन । यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ,’ उनले भने ।
प्रतिक्रिया