माओवादी एमसीसीको विपक्षमा, अगाडि बढाए सरकार छाड्ने चेतावनी

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ ।

सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन ।

जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको छ ।

‘एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ,’ उनले अघि भने, ‘सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा शायद आउँदैन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति