स्वास्थ्यमन्त्री खतिवडाले झुटो बोलेपछि एमालेले माग्यो राजीनामा

काठमाडौं, ३ फागुन । प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’

मन्त्री खतिवडाले हालै एउटा अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागले बताएको छ । भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ ।’ संघीय सांसदहरुलाई निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले १९ फागुन २०७७ मा सिभिल अस्पतालमा पहिलो मात्र कोरोना खोप लगाएका थिए ।

‘सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गर्नुभएको छ,’ विभागले भनेको छ, ‘उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले  Batch no. Batch no 4120Z004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’ स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि गलत सूचना दिएर अफवाह फैलाएको एमालेको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति