पासाङल्हामु राजमार्गमा स्थानीयकाे आन्दोलन, काठमाडौंमा फोहोर संकलनमा अवराेध

काठमाडौं, २ फागुन । आइतबारदेखि काठमाडौैंबाट फोहोर बोकेर गएका गाडी समेत रोकिएका छन् । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै स्थानीयले “नाे राेड-नाे भाेट” लेखिएकाे ब्यानर राखी आइतबारदेखि सडक अवरुद्ध गरेका छन् । यसका कारण ल्यान्डफिल्ड साइटमा काठमाडौंकाे फोहोर विसर्जनमा समेत अवरोध भएको छ ।

काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि आइतबारबाट फाेहोर विसर्जनका लागि अवरोध भएको बताए । ‘मुड्खु-तीन पिप्ले सडक खण्डमा स्थानीयले सडकमा अवरोध गरेपछि फाहोर विसर्जनमा अवरोध भएको हो,’ उनले भने । उनले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिवद्धता उनीहरुबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहोर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिए । ‘सडक निर्माण गर्ने जिम्मेवारी महानगरपालिकाको होइन,’ उनले भने, ‘तर फोहोर विसर्जनका लागि सहज वातावरण निर्माणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौं ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुनसक्छ,’ उनले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्छु ।’ उनले ०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक-पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गरोस् ।’ शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताए । सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार-साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुने उनले बताए ।फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहोर-मैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक रहेको शाक्यले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति