काठमाडौं, फागुन १। मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ ।
माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।
जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।
कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया