काठमाडौं, माघ २७ । अमेरिकाका एक मन्त्रीले नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । साथै उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी दिएका छन् ।
एमसीसी सम्झौता लामो समयदेखि प्रतिनिधिसभामा विचाराधीन छ । पछिल्लो पटक भने ६ फेब्रुअरी (२३ माघ) मा मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर एमसीसीबारे निर्णय गर्न २८ फेब्रुअरी (१६ फागुन) को म्याद दिएको छ ।
१३ असोजमा देउवा र प्रचण्डले एमसीसी अनुमोदनका लागि वातावरण बनाउन ४ /५ महिना समय मागेर एमसीसीलाई पत्र पठाएका थिए । तर सत्तारुढ गठबन्धनमै एमसीसीबारे साझा धारणा बन्न सकेको छैन । प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन प्रयास गरेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन ।नेपाली कांग्रेसका सभापति देउवाले प्रमुख विपक्षी नेकपा एमालेको सहयोग खोजेका छन् । तर एमालेले पनि संसदमा टेबल भएर सत्तारुढ गठबन्धनको धारणा नआएसम्म नबोल्ने बताएको छ ।दलहरुबीच सहमति नजुटेकै कारण प्रतिनिधिसभाको बैठक पनि पटकपटक सूचना टाँसेर स्थगित गरिएको छ । २ फागुनका लागि बोलाइएको संसद बैठक पनि फेरि स्थगित गर्ने तयारी छ ।
एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकेपछि बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरेका छन् ।लूले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्वाद गरेका हुन् ।सहायक विदेशमन्त्री लू र प्रचण्डबीच फोनवार्ता भएको माओवादी एक स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार सम्वादका क्रममा लूले एमसीसी सम्झौतामा संशोधन हुन नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘अब तपाईंहरुले निर्णय गर्नुपर्छ ।’नेताहरुका अनुसार एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाव दिने क्रममा अमेरिकी अधिकारीहरुले यसअघि चिनियाँ हस्तक्षेप भनेर बुझ्नेदेखि नाकाबन्दी लगाउनेसम्मको धम्की दिने गरेका थिए । यसपटक सहायकमन्त्री लूले पनि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।उनले एमसीसी फिर्ता भए अमेरिकी अनुदान सहयोग चीनले हस्तक्षेप गरेर स्थगित गराएको अर्थमा बुझ्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो अनुदान सहयोग पनि चीनले हस्तक्षेप गरेर स्थगित ग¥यो भनेर बुझ्छौं भनेर उहाँले भन्नुभयो,’ स्रोत भन्छ ।प्रधानमन्त्री देउवा एमसीसी अनुमोदनकै पक्षमा छन् भने प्रमुख विपक्षी दल नेकपा एमालेले पनि एमसीसीको विरोध गरेको छैन । माओवादीले भने यथास्थितिमा अनुमोदन हुननसक्ने बताएको छ ।
सहायकमन्त्री लूसँगको सम्वादका क्रममा माओवादी अध्यक्ष प्रचण्डले भने आफूहरुले अरुबाट प्रभावित भएर निर्णय नगर्ने बताएका छन् । एमसीसीबारे जनमत विभाजित रहेको भन्दै उनले भनेका छन्, ‘अरुबाट प्रभावित भएर निर्णय गर्ने होइन, तपाईं र हाम्रो कुरा हो । तर नेपाली समाज विभाजित छ, हाम्रा कुरा छन् ।’त्यसैले चुनावपछि सार्न उपयुक्त हुने प्रचण्डले बताएको स्रोतको दाबी छ । उनले भनेका छन्, ‘हामी छलफल त गर्दैछौं, तर चुनावमा प्रवेश गरिसक्यौं । त्यसैले पछाडि सार्दा उपयुक्त हुन्छ भन्ने लागेको छ ।’
प्रतिक्रिया