काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता कोइराला दाहाललाई भेट्न बिहीबार बिहान खुमलटारस्थित उनको निवास पुगेका थिए । कोइराला– प्रचण्डबीच समसामयिक राजनीतिक विषयहरूमा कुराकानी भएको छ । पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको नेता अमरेशकुमार सिंहले जानकारी दिए ।
भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए ।‘अहिलेको सत्ता गठबन्धन दलहरूकैबीच चुनावी गठबन्धन पनि गरौँ भनेर छलफल भइरहेको छ, हामीहरूबीच गठबन्धन गर्दा सबैलाई फाइदा छ । तपाईं निर्णय गर्ने ठाउँमा हुनुहुन्न । तर, निर्णय प्रभावित गर्ने ठाउँमा हुनुहुन्छ,’ प्रचण्डले भनेका थिए, ‘गठबन्धन गरौँ ।
तपाईंले चुनावी गठबन्धनको विरोध नगरिदिनुस् ।’ अध्यक्ष प्रचण्डले आगामी चुनावमा गठबन्धन गर्दा अहिलेको सरकार पनि बच्ने तथा संविधान र लोकतन्त्रको रक्षाका निमित्त समेत गठबन्धनले आफ्नो उदेश्यबमोजिम काम गर्न सक्ने बताएका थिए । जवाफमा नेता कोइरालाले भने गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा नहुने बताएका थिए । ‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ,’ कोइरालाले भनेका थिए, ‘तर, अहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन् । त्यसैले गठबन्धन गर्दा तपाईंलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।’ नेता कोइरालाले एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित र विभाजित भएको भन्दै त्यसलाई छिटो टुंगोमा पुर्याउन आग्रह गरेका थिए । ‘एमसीसीबारे तपाईंको धारणा प्रष्ट हुनुपर्यो ।
सरकारमा बसेर यसलाई गिजोल्नुभएन । यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ,’ कोइरालाले भनेका थिए, ‘कम्तिमा एमसीसीलाई संसदमा टेबल गराउनुस् । त्यसपछि त्यहाँ छलफल हुन्छ र त्यसलाई पास गराएर अघि बढ्न सहज हुन्छ । संसद्मा टेबल गर्न नै अवरोध गर्ने कुरा राम्रो होइन ।’अध्यक्ष दाहालले भने चुनावअघि एमसीसी पास गर्न नसकिने बताएका थिए । ‘एमसीसीबारे हामी छलफलमै छौँ ।
तर, चुनावअघि एमसीसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेरमात्रै टुंगोमा पुर्याउन सकिन्छ,’ प्रचण्डलाई उदृत गर्दै छलफलमा सहभागी नेता सिंहले भने, ‘चुनावअघि एमसीसी पास गराउन असहज छ ।’भेटमा नेता कोइरालाले सत्ता गठबन्धन र सरकारले संसद् सञ्चालनका लागि पहल लिनुपर्ने बताएका थिए । ‘धेरै समयदेखि संसद् अवरुद्व भएको छ । यसले कसैलाई पनि फाइदा गरेको छैन, गठबन्धन र सरकारले यसबारे पहल लिनुपर्यो, संसद् खुलाउनुपर्यो, संसद्मा जनताका समस्या र सवालहरूमाथि छलफल हुनुपर्यो,’ कोइरालाले भनेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए ।
प्रतिक्रिया