पाँच वर्षे कार्यकाल नपुग्दै चुनाव गर्न लागेको भन्दै मेयरले सर्वोच्चमा दिएको निवेदन दरपिठ

काठमाडौं, २६ माघ । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्चमा दिएको निवेदन दरपिठ भएको छ ।मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकेको तर सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने भन्दै पाँच वर्षे कार्यकाल निर्बाध उपभोग गर्न पाउँ भन्दै परमादेशको माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए । तर सर्वोच्चले भने स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ मा अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख भएको स्मरण गराउँदै निवेदन दरपिठ गरिदिएको छ ।

सरकारले वैशाखमा चुनाव गर्नका लागि मिति तोकेको निर्णयले निवेदकले दाबी गरेजस्तो पाँच वर्षे कार्यकाल घटाउने सम्भावना नभएको भन्दै सर्वोच्चले मेयर साहको निवेदनलाई आधारहीन भनेको छ । आज बुधवारको सर्वोच्चको निर्णयसँगै २०७४ सालमा दोस्रो र तेस्रो चरणमा स्थानीय तहको चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै भइरहेको विवाद अन्त्य भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति