काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिका भित्र रहेका विद्यालयमा पढ्ने विद्यार्थीले आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउन पाउने भएका हुन्।
शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ। पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिन लागिएको महानगरले जानकारी दिएको छ।काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा रहेको खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउनुपर्ने हुन्छ।खोप लगाउनका लागि वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरेर खोप केन्द्र तोकिएका विद्यालयमा जान महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आग्रह गरेका छन्।

प्रतिक्रिया