काठमाडौँ, २३ माघ । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका एक सदस्यले आइतबार बिहानै सरकार विस्तारको तयारीबारे असन्तुष्ट हुँदै भने, ‘मुख्यमन्त्री राजेन्द्र राई एकलौटी ढंगले अगाडि बढ्न खोजेका छन्, यो हामीलाई मान्य छैन, ७ दिनमै सरकार ढाल्दिन्छौं ।’
उनले मुख्यमन्त्री राईले आफूहरुसँग सल्लाह नगरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्दै थप भनेका थिए, ‘यो कुरा मैले मुख्यमन्त्रीलाई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पनि भनेको छु, यही तरिकाले अगाडि बढे संसदीय दलको बहुमत सदस्यले निर्णय गरेर सबै मन्त्री फिर्ता बोलाउँछौं ।’
उनले त्यसो भनेपनि प्रदेश १ सरकारका नयाँमन्त्रीको शपथग्रहण समारोहमा काँग्रेस संसदीय दलका नेता राजिव कोइराला तथा उपनेता हिमाल कार्की सहभागी भए । काँग्रेसका नेता तथा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की भने शपथग्रहणमा सहभागी भएनन् । आफू नियुक्त भएको ९७ दिनपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै राई गत कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफ्नै पार्टीभित्रका आकांक्षीको व्यवस्थापन तथा अन्य गठबन्धन दलहरुको दबाबकाबीच राईले मन्त्रीमण्डल विस्तार गरेका हुन् । विस्तार पछि मन्त्रीमण्डल १४ सदस्यीय पुगेको छ । आइतबार मात्रै ८ मन्त्री थपिएका हुन् । तर, पनि आफ्नो दलदेखि अन्य दलको असन्तुष्टि चुलिएको छ ।
मन्त्रीमण्डल विस्तार हुनुअघि नेकपा (एकीकृत समाजवादी)को बैठकमा १ जना बाहेक सबै मन्त्रीका आकांक्षी देखिएका थिए । समाजवादीमा मन्त्री बन्न लोभ नगर्ने सांसद गणेश काङमाङ मात्रै थिए । काँग्रेसमा पनि मन्त्री बन्ने दाउपेचमा थुप्रै सांसदहरु लागेका थिए । संसदीय दलमा नेपाली काँग्रेसमा शेखर कोइराला पक्षको बहुमत भएपनि नयाँ मन्त्री बन्नेहरु भने सबै देउवा–सिटौला पक्षका छन् । त्यही कारण पनि कोइराला पक्षका सांसदहरुले चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
प्रतिक्रिया