भोलीदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा

काठमाडौं, २३ माघ । काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।

कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी भएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहीले क्रमिक रुपमा घटिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति