मूल्य बढाएर पनि आयल निगम मासिक साढे चार अर्ब घाटामा

काठमाडौं, १९ माघ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।

विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्‍याएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्‍याइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक रु साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब रु दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट रु दुई करोड, हवाई इन्धन ९आन्तरिकतर्फ० रु तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) रु १६ करोड नाफा हुने निगमको आकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए। निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना रु पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत रु एक अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य चर्को भएको भनेर आलोचना भइरहँदा सीमावर्ती भारतीय क्षेत्रको भन्दा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ। मूल्य समायोजनपश्चात भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन ९आन्तरिकतर्फ० भारतको कोलकाताको भन्दा काठमाडौँमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति