काठमाडौं, १४ माघ । काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुको प्रयास सकरात्मक भए पनि पूर्ण सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरु पठाएको छ महिना पुगेपछि शुक्रबार पहिलोपल्ट सिंहदरबारमा बसेको माओवादीको सरकार सञ्चालन संयन्त्रको बैठकमा प्रचण्डले आफूहरुले पनि प्रयाप्त निर्देशन गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् ।देउवा सरकारमा माओवादीबाट एक राज्यमन्त्रीसहित छ जना मन्त्री सहभागि छन् ।अर्थ, उर्जा, भूमिसुधार, खेलकुद लगायतका महत्वपूर्ण मन्त्रालय माओवादीले सम्हालेको छ।
प्रमुख सचेतक देवगुरुङ समेत सहभागि बैठकमा प्रचण्डले मन्त्रीहरुको यत्ति कामले मात्रै नपुग्ने बताएको संयन्त्रका सचिव नेता हरिबोल गजुरेलले बताए । ‘हाम्रो अध्यक्षले मन्त्रीहरुले राम्रै प्रयास गरेकोमा खुसी व्यक्त गर्नुभयो,’ गजुरेलले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘आगामी दिनमा पार्टी र संयन्त्रले पनि पहलकदमी लिन्छ । तपाईंहरुको पनि यतिले पुग्दैन।’ प्रचण्डले पार्टी र संयन्त्रले प्रयाप्त निर्देशन दिन नसक्नु कमजोरी भएको स्वीकार गरेको गजुरेलले बताए । प्रचण्डको भनाइ सुनाउँदै उनले भने, ‘हाम्रो बरु अलिकति भूमिका नपुगेको, निर्देशन नपुगेको अनूभूति भएको छ । आगामी दिनमा त्यसलाई पुरा गर्छौं । मन्त्रीहरुले पनि यत्तिले भइहाल्यो, पुगिहाल्यो भन्ने होइन।’
माओवादी मन्त्रीहरुले जनाताको पक्षमा काम गर्न खोजेको देखिए पनि त्यतिले मात्रै सन्तुष्ट हुन नसकिने गजुरेल स्वयंको मुल्यांकन छ । माओवादी मन्त्रीहरुको कार्यशुलता अरुको भन्दा फरक हुनुपर्ने गजुरेल बताउँछन् । उनले भने, ‘मैले भनेको के हो भने माओवादीका मन्त्रीहरुको कार्यकुशलता देखिनेगरि हुनुपर्छ । जनताले यी मन्त्री र मन्त्रालयको काम फरक छ है भन्ने महसुस गर्नुपर्यो ।’गजुरेलको थपे, ‘अहिले पञ्चायतको निरन्तरता बहुदलमा र बहुदलको निरन्तरता गणतन्त्रमा भयो । भेटघाटदेखि लिएर निर्णय प्रक्रियामा समेत अलि नयाँ अनुभूति गर्नुपर्यो ।’
प्रतिक्रिया