प्रदेश–१ बाट एमालेकी भण्डारीलाई पराजित गर्दै राई निर्वाचित

काठमाडौं, १२ माघ। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छन्। निर्वाचन प्रदेश कार्यालय स्रोतका अनुसार आधिकारिक नतिजा सबैको एकैपटक प्रकाशित हुनेछ। नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतान्तरले पराजित गरेकी हुन्।भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए।

महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।त्यस्तै लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।

बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ। तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए।राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) उम्मेदवार हुन् भने एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई उम्मदवार बनाएको छ।

त्यस्तै राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार हुन् । उनी एकीकृत समाजवादीकी हुन् ।शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति