रास्ट्रियसभा निर्वाचन : आठ मतदानस्थल र १४ केन्द्रमा मतदान सुरु

काठमाडौं १२ माघ । राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधबार बिहान ९ बजदेखि मतदान सुरु भएको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यसैबीच राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हातामा मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए । गठबन्धनबाट महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनारको उम्मेदवारी छन् ।

यसैगरी एमालेका तर्फबाट अन्य कोटामा पुण्यप्रसाद पौडेल, महिलामा लीला पोखरेल थनेत र दलिततर्फ अर्जुनकुमार सुनाम उम्मेदवारी रहेको छ । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अन्य समूहबाट निर्वाचित माओवादी केन्द्रका दिनानाथ शर्मा (बागलुङ), दलित समूहका खिमकुमार विक (स्याङजा)र नेकपा एसकी शान्तिकुमारी अधिकारी जिसी (महिला समूहबाट बागलुङ) को ४ वर्षे कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो ।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ सांसद मतदाता छन । ६० सदस्यीय प्रदेशसभामा एकजना राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाइ पार्टीले कारबाही गरेपछि ५९ जना रहेका हुन् । प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ ।

प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २र२ जना र एकजना स्वतन्त्र सांसद छन् । यसैगरी स्थानीय तहमा कांग्रेसका ८३, एमालेका ६९, माओवादी केन्द्रका १२, राजमोका ३, राप्रपाका २ र नेकपा एसका १ मतदाता छन् ।

त्यस्तै वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा मतदान प्रक्रिया सुरु भएको छ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति